Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

स्टार्टअपलाई अघि बढाउने सरकारको दृढता रोकिनु हुँदैनः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा उभिँदा अर्थतन्त्र अघि बढ्न सक्ने बताएका छन् । लगानी सम्मेलनका क्रममा ऐन कानुन परिमार्जन सहज रूपमा भएको स्मरण गर्दै ढकालले सबै राजनीतिक दल एक ठाउँमा उभिएमा अर्थतन्त्र सबल बनाउन सकिने बताएका हुन् ।

आज उद्योग मन्त्रालयमा आयोजित निजी क्षेत्रसँग छलफल कार्यक्रममा बोल्दै ढकालले थपे, ‘यसका लागि एकल सेवा बिन्दु केन्द्रलाई सबल र सक्षम बनाउनुपर्छ ।’ यो निकायलाई शक्तिशाली बनाउन सकेमा विदेशी लगानी र स्वदेशी लगानी ल्याउन समस्या पर्दैन ।

यस्तै स्टार्टअपलाई अघि बढाउने सरकारको दृढता नरोकिनु पर्नेमा ढकालको जोड छ । यतिबेला सरकारले एक दशक यता स्टार्टअपलाई अघि बढाउनका लागि ३ प्रतिशत ब्याजमा ऋण दिन सुरु गरेको छ ।

‘यसबाहेक सूचना प्रविधि क्षेत्रमा नेपालले ठुलो प्रगति गर्दै आएको छ,’ ढकालले भने, ‘यो क्षेत्रलाई बढवा दिनुपर्छ । बजेटमा पनि हामीले यो विषयलाई प्राथमिकता दिएका छौँ ।’ यतिबेला नेपालबाट ठुलो मात्रामा प्रविधि निर्यात गर्दै आएको छ ।

यसै गरेर निर्यात प्रवर्द्धन र पर्यटन क्षेत्रलाई सरकारले जोड दिनुपर्नेमा ढकालको जोड छ । भारतबाट आउने वेडिङ पर्यटकलाई नेपालले प्राथमिकतामा राख्नुपर्ने र गहना लाएर आउनेलाई सहजीकरण गर्नुपर्ने ढकालले बताए ।