Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

गौतम बुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा हिमालयन कालिञ्चोकलाई, कहिले सकिन्छ अब?

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सम्झौता भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक बीबीआर जेभी निर्माण कम्पनीबीच ३० महिनाभित्र पहिलो चरणको काम सक्ने गरी सम्झौता भएको हो ।

भरतपुर महानगरपलिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार रंगशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने उल्लेख छ । निर्माण कम्पनीले रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाउनुपर्ने छ ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले स्रोत जुटाउन नसकेपछि महानगरपालिकाले काम अघि बढाएको थियो । सुरुमा महानगरपालिकाले निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेशन पेश्कीका रुपमा ६ करोड ८० लाख रुपैयाँ दिने छ ।

सम्झौता अनुसार पहिला ड्रेन मैदान प्याराफिट लगायतका काम हुने छ । रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

यस्तै, बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गत माघ २३ गते नै गरेको थियो ।