नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको छ । आज शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमतिअनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२) बमोजिम गठन हुने दाबी गरेको हो ।
बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको उनले बताए ।
त्यस्तै बैठकले कांग्रेस–एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको लेखकले जानकारी दिए । लेखकले राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने, शिथिल अर्थतन्त्रलाई क्रियाशिल गर्ने, संविधान कार्यान्वयनका सवालमा देखिएका सबल र कमजोर पक्षको समीक्षा गरेर संविधानको आवश्यक संशोधन गर्ने सबालमा नयाँ सरकार दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरे ।