राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले आफूमाथि ‘ह्यारेसमेन्ट’ भएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकबाट बाहिरिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । मुखमा मास्क र कालो टेपमै आएका उनले बैठकमा आफूमाथि ह्यारेसमेन्ट गरिएको आरोप लगाएका हुन् ।
देश दौडाहापछि उनले ल्याएको प्रतिवेदनले रास्वपामा भूकम्प नै गएको छ । सो प्रतिवेदनमाथि छलफल गर्न बैठक बसेको हो । बैठकमा ढकालले लिखित प्रस्ताव पेस गर्ने तयारी गरे पनि सभापति रवि लामिछानेले उनलाई त्यसको अनुमति दिएनन् । महामन्त्री ढकाल पार्टी बैठकमा दिनभर उठेका प्रश्नको जवाफ नदिई बैठकबाट बाहिरिएका हुन् । उनले तयार पारेको प्रतिवेदनमाथि पार्टी बैठकमा केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका थिए । बैठकको अन्तिममा सभापति रवि लामिछानेले उनलाई जवाफ दिन पनि आग्रह गरेका थिए । तर, ढकाल जवाफ दिन्न भन्दै बैठकबाट बाहिरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा उपस्थिति अधिकांश सदस्यले उनको कार्यशैलीमाथि असन्तुष्टि जनाएका थिए । ती सबै केन्द्रीय सदस्यहरूको प्रश्न सुनेका ढकाललाई पार्टी सभापति लामिछानेले जवाफ दिनुस् भनेपछि उनले अस्वीकार गर्दै बाहिरिएका हुन् । ‘पार्टी बैठकमा उपसभापतिले उहाँलाई आफूलाई लागेको कुरा भन्न आग्रह गर्नुभएको थियो,’ उनले भने, ‘तर, उहाँ यसलाई सुन्दै नसुनी एकछिनमा आउँछु भनेर हिँड्नु भयो ।’ ती सदस्यका अनुसार, अझै पार्टी बैठक चलिरहेको छ । पार्टी उपसभापतिसम्मले कुरा राखेपछि ढकाललाई जवाफ दिन आग्रह गरिएको थियो ।