राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ। बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री ढकालले असन्तुष्टि जनाएका छन्। लाइभ नगर्ने निर्णयविरुद्ध आफू मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएको ढकालले बताए।
बिहान ९ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाएका थिए। ‘हिजोको पार्टी सचिवालय बैठकको निर्णयबमोजिम समीक्षा प्रतिवेदनका आधारमा प्रस्ताव तयार पारेको थिएँ। समीक्षा प्रतिवेदनपछीका सन्दर्भमा आफ्ना भनाइ राख्ने अनुमति दिने सचिवालयले निर्णय गरेको थियो, तर आज मलाई बोल्न दिइएन। लिखितरूपमा तयार पारिएको प्रस्ताव र भनाइ पनि सभापतिले राख्न अनुमति दिनु भएन,’ ढकालले भनेका छन्।

महामन्त्री ढकालको प्रतावमा सभापतिमा रवि लामिछाने रहे पनि पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी नै रहन दिनुपर्ने उल्लेख छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔंला तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं,’ प्रस्तावमा भनिएको छ।
रविको पार्टीबाट रास्वपा बनाउन महामन्त्रीले विभिन्न प्रस्ताव प्रस्तुत गरेका छन्। सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरु २ हप्ता गुप्तबासमा बसेर पार्टी विधान कस्तो बनाउने, विधान पालना कसले गराउने, पार्टीको कार्यदिशा कसरी निर्धारण गर्ने, नेताको कार्यसम्पादन मूल्यांकन कसरी गर्ने, आफूहरु राजनीतिमा किन आएको ? पार्टीको निर्णय प्रकृया के हो ? लगायत विभिन्न विषयमा निर्णय गर्न प्रस्ताव गरेका छन्।
गुप्तबासका क्रममा आफूले महामन्त्रीको रुपमा राय राख्ने र त्यसमा निर्णय केन्द्रीय समिति सदस्यहरुले नै गर्ने उल्लेख गरेका छन्।