Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

इलामको सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल ९रासायनिक पदार्थ प्रयोग नभएको० हालेर व्यावसायिक गोलभेँडा खेती गर्ने सोचमा छन् ।

‘अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु, आवेदन दिएको थिएँ पालिकाले दियो । अब यसलाई सदुपयोग गरेर खेती विस्तारतिर लाग्छु’, लिम्बू भन्छन् । सोमबार सूर्योदय नगरपालिकाले एक सय छ जना किसानलाई ‘मल्चिङ’ प्रविधिका लागि प्लास्टिक र एक सय २९ किसानलाई ‘प्लास्टिक टनेल’ वितरण गरेको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम ‘एक घर एक करेसाबारी’ नीतिअन्तर्गत ‘किसानसँग समृद्धि अभियान’ नाराका साथ ५० प्रतिशत अनुदानको कार्यक्रम भइरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र आचार्यले बताए । किसानलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गराउन प्रविधि हस्तान्तरण गरिएको उनले बताए ।

‘१४ वटै वडाबाट प्राप्त अनुदानका आवेदनमा वडाले प्राथमिकता तोकेर पठाएका एक सय २९ जनालाई प्लास्टिक टनेल र एक सय छ जनालाई मल्चिङ प्रविधिका लागि प्लास्टिक वितरण गरेका छौँ, वडाहरूबाट पाँच सयभन्दा बढी किसानका लागि माग भए पनि हाम्रो अहिलेको बजेटले भ्याएअनुसार वितरण गरिएको छ’, संयोजक आचार्यले भने । तरकारीमा मोटो रकम बाहिर गइरहेको अवस्थालाई परिवर्तन गरेर यहीँ तरकारी उत्पादनमा किसानलाई प्रोत्साहन गर्न र आर्थिक विकास गर्ने उद्देश्य राखेर किसानलाई प्रविधिमा अनुदानका कार्यक्रम ल्याइएको आर्थिक विकास समितिका संयोजक आचार्यले बताए ।

‘अकबरे खुर्सानीखेतीलाई प्राथमिकतामा राखेर प्लास्टिक वितरण गरेका हौँ । खुर्सानीखेती मल्चिङ गर्दा जमिनको तापक्रम कायम रहने र झार नपलाउने भएकाले किसानको समय बचत हुन्छ’, उनले भने, ‘सूर्योदयका अधिकांश किसानले अकबरेको व्यावसायिक खेती सुरु गरिसक्नुभएको छ ।’

नगरपालिकाले यहाँका व्यावसायिक किसानलाई ‘मिनीटिलर, काउम्याट, च्यापकटर’ लगायत प्रविधि वितरण गरिरहेको छ । तीन सय थान चिया काट्ने हाते मेसिन वितरण धमाधम भइरहेको छ । सूर्योदयको चिया उत्पादनलाई गुणस्तरीय बनाउन पेट्रोल, डिजेलको साटो ब्याट्री र बिजुलीबाट सञ्चालन हुने ‘मेसिन’ किसानलाई वितरण गरिएको उनले बताए ।

‘सूर्योदयका करिब ८० प्रतिशत किसान चियाखेतीमा आबद्ध भए पनि चिया टिपाइमा सुधार हुन नसक्दा अन्तर्राष्ट्रिय बजारमा यहाँको चियाले प्रतिस्पर्धा गर्न सकेको छैन । गुणस्तर वृद्धिका लागि किसानलाई अनुदानमा मेसिन दिइएको हो’, संयोजक आचार्यले भने ।