Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

इलाम-२ उपनिर्वाचन:

उम्मेदवार सुहाङ र मिलन लिम्बुबीच जम्काभेट, के भयो कुराकानी?

इलाम-२ उपचुनावमा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुबीच जम्काभेट भएको छ । इलाम बजारको अस्पताल लाइनमा आइतबार चुनावी अभियानमा जाँदै गर्दा नेम्बाङ र लिम्बुको जम्काभेट भएको हो ।

घरदैलो गर्दै चोकतिर उकालो लागेका सुहाङ र अस्पताल लाइनबाट ओरालो झर्दै गरेका मिलन एक्कासी आमुनेसामुने भएका हुन् । उनीहरु चुनावी प्रचार अभियानमा यसअघि प्रत्यक्ष भेटिएका थिएनन् । उस्तै उमेका देखिने यी दुई उम्मेदवारबीच प्रत्यक्ष भेटकाटका क्रममा करिब पाँच मिनेट कुराकानी भयो ।

पूर्वसभामुख सुवास नेम्बाङका छोरा सुहाङको र भर्खर माओवादी छोडेर रास्वपामा गएका मिलनको यतिबेला चर्चा चुलिएको छ । यसअघिको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले अप्रत्यासिलो नतिजा ल्याएकाले पनि सबैको ध्यान मिलनप्रति छ ।

पत्रकारितामा र माओवादी केन्द्रको प्रेस सेन्टरमा रहँदा राम्रो छवि बनाएका मिलन रास्वपाबाट उम्मेदववार बनेपछि आम जनताको ध्यान उनीप्रति आकृष्ट भएको हो । कांग्रेसले उम्मेदवार उठाउन ढिलाइ गर्दा पनि सबैको चासो सुहाङ र मिलनतर्फ केन्द्रित छ । उनीहरूसहित अन्य उम्मेदवारहरूले पनि घरदैलो जारी राखेका छन् ।

भेटमा दुवै जनाले मित्रवत् स्वस्थ प्रतिष्पर्धाका लागि शुभकामना पनि दिएका छन् । मिलनले इभाङ पुग्दा आफ्नो घर पुगेर आमाले पकाएको खाना खाइदिन प्रस्ताव राखे । सुहाङले फर्काए, ‘अवश्य, म तपाईंको घरमा पुग्ने छु । आमालाई भेट्ने छु ।’ रास्वपा सभापति रवि लामिछाने शनिबार मिलनको उम्मेदवारी घोषणा गर्न इलाम पुगेका थिए । एमाले नेता रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायत नेताहरू इलाम आउजाउ गरिरहेका छन् ।