Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

चिनी गोदाममा सशस्त्रको छापा, साढे १२ हजार किलो बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले भारतबाट भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको चिनी बरामद गरेको छ । सशस्त्रले अवैध रुपमा भित्र्याएर गोदाममा राखिएको अवस्थामा छापा मारेर चिनी बरामद गरेको हो ।

रुपन्देही सशस्त्र नम्बर २७ गणका डीएसपी दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका–५ बुडवा स्थित गोदाममा छापा मारेर साढे सात लाख मूल्य बराबरको १२ हजार पाँच सय किलो (२५० बोरा) चिनी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देही सशस्त्रका एसपी आनन्द थापा मगरको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा भित्राइएको जुत्ता र चप्पल बरामद गरेको छ । उक्त टोलीले बुटवल उपमहानगरपालिका–१३ झोलुङ्गेपुल क्षेत्रबाट चार लाख मूल्य बराबरको तीन सय ६० जोर जुत्ता र तीन सय ५७ जोर चप्पल बरामद गरेको सशस्त्र नम्बर २७ का गणका डीएसपी मोहन न्यौपानेले जानकारी दिए ।

सशस्त्रले ढुवानीमा प्रयोग गरिएको लु १ च ५७९१ नम्बरको गाडी नियन्त्रणमा लिएको छ भने गाडी चालक रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बेतकुँईयाका २४ वर्षीय रविन्द्र यादवलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति, सामग्रीहरू र गाडी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको डीएसपी न्यौपानेले बताए ।