Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आज महाशिवरात्रि पर्व

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो, एक पटकमा १० जनासम्मले दर्शन गर्न सक्ने (तस्बिरहरु)

आज शुक्रबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ ।

Photos (15).jpeg

बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए । उनँका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवानको दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ विकास कोषले जनाएको छ ।

Pashupatinath-2-scaled.webp

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको छ । आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

Photos (11).jpeg

शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ । यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ । पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रवन्ध मिलाएको प्रवक्ता अधिकारीले बताए ।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा रहेको छ । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सव कमण्ड पोष्ट खडा गरी समग्र पशिुपति क्षेत्रको महाशिवरात्री पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइएको छ ।

Pashupatinath-1-scaled.webp

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहेको छ भने भने सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुने जनाइएको छ । यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङ्कराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वाग्मती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ ।

यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ । पशुपतिनाथको दर्शनका लागि यस पटक नौवटा र्‍याम्प ९बाटो० को व्यवस्था गरिएको सदस्य सचिव खत्रीले बताए । उनका अनुसार उत्तरपट्टी तीन वटा, पूर्वपट्टी दुई वटा, दक्षिणपट्टी दुई तथा पश्चिमपट्टी दुई वटा र्‍याम्पको व्यवस्था गरिएको छ ।

उता पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ । विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइएको जनाइएको छ ।

सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइए कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङ जस्ता पदार्थको बिक्री वितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको दर्शन तथा पूजा आराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको जनाएको छ । बत्तिसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङगलास्थान गेट हुँदै वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।

यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । साथै जोरपाटी, कपन, महाँकाल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तर ढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ ।

Pashupatinath-3.webp

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ । मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तिले सजावट गरिएको छ । पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिलि पारिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ ।

यही फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ । पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्यरुपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगयात धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको जनाइएको छ ।