नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो।
नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।
घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ। नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग ट'मा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।
यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो । नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो ।
पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो । नेपाल र नेदरल्यान्ड्सबीच ११ टी-२० आई खेल भएका छन् । जसमा नेपाल समान ५ खेलमा जित र हार व्यहोरेको छ । एक खेल नतिजाविहीन छ । टीयुमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच टी-२० आई खेल भएका छन् । जसमा नेपाल ३ खेलमा विजयी भएको छ ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।
बेञ्च : विवेक यादव, अनिल शाह, ललित राजवंशी र सन्दीप जोरा ।