Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

त्रिकोणात्मक टी-२० आई सिरिज: आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ ।

नेपालले  लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो। यसअघि आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। पहिलो खेलमा नामिबियाबाट पराजित भएको नेपालले शुक्रबार आफ्नो तेस्रो खेलमा हारको बदला लिएको थियो। नामिबिया ३ रनले पराजित भएको हो। नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको छ। 

शृङ्खलामा नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको २-२ अंक छ। रनरेटका आधारमा नेपाल दोस्रो र नामिबिया तालिकाको पुछारमा छ। तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ ।

आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ । नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ । त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्छ ।

नेपाल र नेदरल्यान्ड्सबीच १० टी-२० आई खेल भएका छन् । जसमा नेपाल ४ मा जित र ५ खेलमा पराजित भएको छ ।