शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो

इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो

    ध्रुवसागर शर्मा । तत्कालिन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुकोटमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको इतिहास छ ।

    विसं १२४६ मा धर्मराज थापा ज्यामरुककोटका राजा भएपछि मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेवम मल्ल र उनका भाइ भर्तिवम मल्लका युद्धका कारण चर्चामा आएको गाउँ हो ।

    ज्यामरुककोटको दक्षिणतर्फ पर्ने अन्तिम गाउँ हो सानालेख । यो गाउँ बागलुङका धार्मिक पर्यटकीय स्थल पञ्चकोट र पन्चासेसँग गहिरो सम्वन्ध रहेको गाउँ हो । गौश्वाराको पुछारमा अवस्थित सानालेख गाउँमा रहेका धेरै ऐतिहासिक तथा प्राकृति सम्पदाहरु नासिइसकेका छन् । बचेको छ एउटा करिव वर्ष पुरानो ठकुरीको पधेंरो (ढुङ्गे धारो) । यही पधेँरो ज्यामरुककोटको इतिहास झल्काउने,सानालेखका पुर्खाहरुलाई सम्झाउने र गृहिणीहरुका दुःख विर्साउने माध्यम बनेको छ ।

    images

    ज्यामरुककोटे राजा भर्तिवम मल्लका सन्तति र कल्याण मल्लका बाजेहरुले वि।सं १८८६/८७ सालमा गाउँलेलाई ठूलो खोलाको पानी पिउनुपर्ने समस्याबाट मुक्त गराउन यो ढुङ्गेधारो निर्माण गरेका इतिहास रहेको सानालेखका हरिप्रसाद शर्माले बताए ।

    “यो धारोलाई ठकुरीको पधेंरो भनिन्छ । यसको इतिहास करिव दुईसय वर्ष पुरानो छ” शर्माले भने “ज्यामरुककोटे राजा भर्तिवम मल्लका सन्तानहरु यहाँ आएर बस्न थालेपछि उनीहरुकै सुविधाका लागि यो धारो निर्माण गरिएको थियो । त्यतिबेला पुरै गाउँमा यही एउटा मात्रै धारो रहेकोले ठकुरीहरुले प्रयोग गरी सकेपछि मात्र सापकोटा र थापाहरुले प्रयोग गर्ने गर्दथे भन्ने भनाइरहेको छ ” शर्माले भने ।

    ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेको अवस्थामा आफूहरुले आफ्नो पुर्खाको चिनोको रुपमा यो ढुङ्गेधारोको मर्मत सम्हार गरी संरक्षण गरेको शर्माको भनाइ छ । “यो धारोसँग हाम्रा पुर्खाहरुको नाम र पहिचान जोडिएको छ । ढुङ्गेधारोलाई पुरानै स्वरुपमा संरक्षण गर्न नसकिए पनि मर्मत गरेर अहिलेसम्म जोगाएका छौँ” शर्माले भने “ढुङ्गाको गौमुखे धारो हराएपछि अहिले मूल रहेको ठाँउँबाट कुलेसो बनाइ पुरानै ढुङ्गा र छपनीको प्रयोग गरी पाइपबाट पानी खसालेका छौं ।”

    पछिल्लो समय गाउँ गाउँमा मोटरबाटोको पहुँच र एक घर एक धाराको अवधारणा आएपछि पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दाले बताएका छन् । अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पुर्‍याउने होडबाजीमा कतिपय जलसम्पदाहरु पुरिएको अवस्थामा सानालेखबासीले आफ्ना पुर्खाको सम्झनाका लागि ढुङ्गेधारा संरक्षण गरेको बताएका छन् । “यो ढुङ्गेधारोसँग हाम्रा पुर्खाहरुको नाम मात्रै जोडिएको छैन, हाम्रा आमा र दिदीहरुको दुःखका दिनको कथा व्यथा पनि जोडिएको छ” स्थानीय महेन्द्र थापाले भने “उ बेला अहिलेको जस्तो हातहातमा मोवाइल र घरघरमा धाराको चलन थिएन । बिहान सखारै उठेपछि पहिलो काम धारामा गएर नुहाउने र पानी लिएर घरमा आउने हुन्थ्यो । दिनभरी काममा व्यस्त हुनुपर्ने आमा दिदीहरु भेटभएर दुःखसुखका कुरा गर्ने फुर्सद हुँदैनथ्यो । पधेरामा पानी भर्ने बेलामा नै आआफ्ना दुःख सुखका कुरा गर्ने गर्दथे ।”

    धारो निर्माणका लागि ऊ बेला नै ठूलो खोलाबाट ल्याइएका विशाल छपनी र काला दर्शनेढुङ्गाहरु अहिले पनि उस्तै अवस्थामा रहेका छन् । धारोको माथिल्लो पर्खाललाई दुई पटक मर्मत गरिसकिए पनि तल्लो भाग भने पुरानै अवस्थामा राखिएको सापकोटाले बताए । पानीले खियाएर तल्लो भागको मुल ढुङ्गो ओखलजस्तो बनेको छ । लेउ लागेर चिप्लो बनेको तल्लो भागलाई सरसफाइ र पुनः मर्मतको आवश्यकता रहेको हरि शर्माले बताए ।

    पानी जम्मा हुने ठाउँमा चेपागाडा,भ्यागुता र माछाहरु देखिन्छन् । धारो रहेको ठाउँभन्दा तलपट्टीको खेत सधैंभरी पानीले भरिने गरेको छ । प्रशस्तै गड्यौला पाइने यहाँको माटो निकै खुकुलो भएकोले यहाँ धानबाली अरु ठाउँको भन्दा निकै राम्रो हुनेगरेको स्थानीयको भनाइरहेको छ । साँझ परेपछि यहाँ अनौठो दृश्य देखिने गरेको स्थानीयको भनाइ छ । हिउँद होस् वा वर्षा, जुनसुकै याममा पनि साँझपरेपछि यहाँ जुनकिरी (रातिमा पिलपिल उज्यालो देखिने एक किसिमको किरा) को भिड नाँचिरहेको देखिन्छ । पछिल्लो समय अरु ठाउँमा देखिन छोडेका जुनकिरी ढुङ्गेधारो परिसरमा भने प्रशस्तै देखिने गरेका स्थानीय रघु शर्माले बताए ।

    म्याग्दीका ग्रामीण भेगमा रहेका कैयौं पधेँरा र ढुङ्गेधाराहरु लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरु देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराहरुको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनु पर्ने उहाँको भनाइरहेको छ ।
    यही ढुङ्गेधाराले गाउँको सौन्दर्य बचाइराखेको स्थानीय टोपबहादुर थापाले बताउनुभयो । “उकाली ओराली गर्दा आँत हरर्र भएको बेलामा अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द बेग्लै हुन्छ” उनले भने ।

    पानी पँधेरो र ढुङ्गेधाराहरुसँग गाउँको संस्कृति, सभ्यताको अनन्त साइनो रहेको थापाले बताउनुभयो । ग्रामीण सभ्यताको शुरुआत नै यस्तै सम्पदाहरुबाट भएको उहाँको भनाइ रहेको छ । तीन दशक अघिसम्म यही पानी पँधेरो नै यहाँका गृहिणी महिलाहरुको दुःखसुख साट्ने र पीर ब्यथा कहने एक मात्र माध्यम हुने गरेको थापाले बताउनुभयो । पँधेरा र ढुङ्गेधाराहरु केवल पानीका स्रोतहरु मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोतहरु पनि भएका उनको भनाइरहेको छ ।

    पछिल्लो समय गाउँको सौन्दर्य मात्रै होइन आत्मीयता र सामुहिकतामा समेत संकट उत्पन्न भएको स्थानीय बूढापाकाहरुको भनाइरहेको छ । सामूहिकतामा विश्वास गर्ने गाउँलेहरुको विश्वास भाँचिदै गएपछि एकाङ्कीपन बढेर गएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरु पनि व्यापारी जस्ता बन्दै जान थालेका बेनी नगरपालिका २ का ८५ वर्षिय खड्गबहादुर घिमिरेले बताए । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको सांस्कृतिक मौलिकता र सम्पदाहरुमा हराउँदै गएको जेष्ठनागरिकहरुको भनाइ रहेको छ ।

    “पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रुपमा खाने गरिन्थ्यो,’ बगरफाँटमा ८८ वर्षीय वेदप्रसाद उपाध्यायले भने ”अब ती सबै परम्पराहरु हराएर गैसकेका छन् ।”

    बिकास,बासाइसराइँ र प्रविधिको पहुँचका कारण ग्रामीण संस्कृति र सभ्यताको क्षयीकरण हुँदै गएको अवस्था छ । बिकास र प्रविधिलाई संस्कृति र सभ्यतासँग जोडेर संरक्षण र विस्तार गर्नुपर्नेमा उल्टो हुँदै गएको स्थानीय बुद्धिजीवीहरको भनाइ छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार