Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विदेशी शिक्षाप्रति किन मोह बढ्दैछ युवा विद्यार्थीको ?

काठमाडौँ । दैनिक सैयौं युवा विद्यार्थीहरु वैदेशिक शिक्षाका लागि भन्दै विदेश पलायन भइरहेका छन् । तर पनि विश्वविद्यालयदेखि मातहतका क्याम्पसहरुको अवस्था सुधारतर्फ राज्य गम्भीर भएको देखिदैन । बरु यहाँका विद्यार्थीहरु नै शैक्षिक तथा प्रशासन सुधारदेखि पूर्वाधार निर्माणको माग गर्दै आन्दोलनमा उत्रिरहेका छन् । विश्वविद्यालय भित्रको विकृति, अनियमितता, राजनीतिक भागबन्डा, आर्थिक अपारदर्शिता बढिरहेको छ ।

२०७२ सालको भूकम्पले महत्वपूर्ण शैक्षिक पूर्वाधारहरूमा ठूलो क्षति पुर्यायो । त्यसमध्येको एक हो, ललितकला क्याम्पस । भूकम्पले ललितकलाको भवनमा पूर्णरुपमा नै क्षति पु¥याएको थियो । अहिलेसम्म पनि पूर्वाधार निर्माणले पूर्णता नपाउँदा यहाँका विद्यार्थीको पठनपाठनमा समस्या भइरहेको छ । भवन निर्माण शुरु भएको ६ वर्ष वित्दा पनि कलेज परिसरको विभिन्न कुनामा पानी चुहिने र खुला आकाश मुनि पढ्न वाध्य भएको भन्दै ललितकलाका विद्यार्थीहरू आन्दोलित छन् । भवन निर्माणले पुर्णता नपाउनुमा ठेकदारको लापरवाही र क्याम्पस प्रशासनविरुद्ध सडक आन्दोलनमै उत्रिएका छन् । उनीहरुले ‘भोटाहिटी फर्कौं, ललितकला शुद्धिकरण जस्ता अभियान चलाएका छन् ।

ललितकला क्याम्पस त एउटा उदहारण मात्रै हो । देशको प्रमूख विश्वविद्यालयको रुपमा रहेको त्रिविका अन्य संकायका संरचनाहरू पनि उस्तै छन् । कहिले पर्यप्त पूवाधार त कहिले शैक्षिक गुणस्तरका लागि भन्दै विद्यार्थीहरू सडक संघर्षमा उत्रने गरेका छन् । भौतिक संरचनासँगै पाठ्यक्रमको सुधार र उपकरणहरूको अभिवृद्धिको आवश्यता रहेको विद्यार्थीहरूले पटक पटक औंल्याएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारका केही प्रयासहरू नभएका भने होइनन् । तर त्यो पर्याप्त हुन सकेको छैन । आफ्ना विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको अहिलेको चुनौती हो । १२ कक्षा उत्तीर्ण गरेपछि विद्यार्थीहरु नेपालको विश्वविद्यालयको शिक्षा र यसको भविष्यप्रति असन्तुष्टि बढिरहेको छ ।

पठनपाठनसँगै रोजगारी पनि पाइने भएकाले मनग्गे आर्थिक उपार्जन गर्ने अभिष्टका साथ युवा विद्यार्थीको विदेश मोह बढिरहेको छ । तर नेपालमा भने रोजगारी गरेर पढाइ पनि सँगसँगै लैजाने वातावरण छैन । दैनिक हाजिर भई पूरा समय पढ्नै पर्ने सेमेष्ट प्रणालीका कारण घरबाटै खर्च ल्याएर उच्च शिक्षा अध्ययन गर्ने अवस्था सबैको छैन । त्यसैले अधिकांश विद्यार्थीहरु १२ कक्षा लगत्तै उच्च अध्ययनका लागि आफ्नो गन्तव्य मुलुकको खोजीमा लाग्ने गरेका छन् । जसका कारण त्रिविमा विद्यार्थीको संख्या घट्दै गएको छ । तर विश्वविद्यालय भने सुधारतर्फ लागेको देखिदैन ।

नेपालको शिक्षाको गुणस्तर, शैक्षिक अवस्थिति, शिक्षापछि रोजगारीको अवस्था लगायतका कारण विद्यार्थीहरूको विदेशीने क्रम बढिरहेको छैन । उनीहरुलाई नेपालमै अध्ययन र रोजगारी दिनेबारे नत सरकारले सोंचेको छ, न त विश्वविद्यालयले नै । आम अभिभावकहरू पनि जतिसुकै खर्च गरेर भए पनि विकशित मुलुकतर्फ छोराछोरीलाई पठाउन चाहिरहेका छन् । राजनीतिक नेतादेखि उच्च पदस्थ ब्यक्तिहरुसमेत आफ्नो छोराछोरीलाई विदेश पठाउन लालायित छन् । कहाँ छ समस्या र के हुन सक्छ समाधान भन्नेबारेमा जिम्मेवार निकायले निकास खोज्न जरुरी छ ।