Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

३३ बोरा चिनी बरामद

इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको प्रहरी टोलीले अवैध चिनी बरामद गरेको छ ।  काभ्रेको रोशी गाउँपालिका–९ स्थित बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबाहक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनाक्रमले बीपी राजमार्गमार्फत पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअन्तर्गत धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्विन्टल चिनी बरामद गरेको थियो । प्रहरीले कात्तिक पहिलो साता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।

बीपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।