Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विश्वकप क्रिकेट २०२३ :

क्रिकेट खेल समीक्षाः कसले जित्ला विश्वकप फाइनल ?

काठमाडौं । विश्वकप क्रिकेट २०२३ को उपाधिका तीन पटकको विजेता अस्ट्रेलिया र दुईपटकको विजेता भारत प्रतिस्पर्धामा उत्रिँदैछन् । योसहित अहिलेसम्म १३ वटा विश्वकप प्रतियोगिता भएका छन् । त्यसमा अस्ट्रेलिया अहिलेसम्मकै सबैभन्दा शक्तिशाली टोली सावित भएको छ । उसले पाँच पटक उपाधि जितेको छ । त्यसमा पनि अस्ट्रेलिया लगातार तीन पटकको उपाधि विजेता हो ।

त्यसबाहेक भारत, वेष्ट इन्डिजले दुईपटक उपाधि जितेका छन् । वेष्ट इन्डिजले सन् १९७५ र १९७९ मा र भारतले १९८३ र २०११ मा उपाधि जितेको छ । त्यस्तै पाकिस्तान, श्रीलंका र इङ्ग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन् । सन् २०१९ मा भएको विश्वकपको उपाधि भने इङ्ग्ल्याण्डले जितेको हो ।

भारतलाई तेस्रो विश्वकप जित्ने अवसर, अस्ट्रेलियालाई छैटौँ 
भारतले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि तेस्रो पटक जित्ने अवसर पाएको छ भने अष्ट्रेलियाले  छैटौँ पटक । कपिल देवको नेतृत्वमा सन् १९८३ मा क्रिकेट उपाधि जितेको भारतीय टोलीले महेन्द्र सिंह धोनीको कप्तानीमा १२ वर्षअघि सन् २०११ मा श्रीलङ्कालाई हराएर अन्तिम पटक विश्वकप उपाधि जितेको थियो। त्यसयता भारतले विश्वकपको उपाधि जित्न सकेको छैन।  

Data first .png

अस्ट्रेलियाले, सन् १९८७ मा इङ्ल्याण्डलाई ७ रनले हराएर उपाधि जितेको हो । त्यसपछि १९९९ मा पाकिस्तान, २००३ मा भारत र २००७ मा श्रीलंकालाई हराएर अस्ट्रेलियाले लगातार तीनवर्ष उपाधिमाथि कब्जा जमाएको थियो । ५ पटकको विजेता अस्ट्रेलिया भने आठौं पटक फाइनल खेल्दैछ । सन् १९७५ मा आयोजित पहिलो संस्करणमा फाइनलमा पराजित भएको अस्ट्रेलिया त्यसपछि सन् १९९६ को संस्करणमा पनि फाइनलसम्म पुगेर श्रीलंकासँग निराश भएको थियो । त्यसपछि लगातार तीन संस्करण जितेको अस्ट्रेलिया सन् २०१५ यता यसै वर्ष पहिलो पटक फाइनल खेल्दैछ ।

अस्ट्रेलिया र भारतको फाइनल भेट 
अस्ट्रेलिया आठ पटक विश्वकपको फाइनलमा पुगेको छ भने भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । दुई पटक विश्वकप जितेको भारत एक पटक उपविजेतामै सीमित हुदाँ उसलाई अस्ट्रेलियाले नै पराजित गरेको थियो । सन् २००३ मा अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो।

Data Second source, careerpower.png

भारत आत्मविश्वासी, अस्ट्रेलिया पनि कम छैन  
अहमदाबादमा हुने खेलअघि भारतीय टोली बलियो आत्मविश्वासमा देखिएको छ । लिग चरणका ९ वटै खेल जितेको भारतले बुधबार भएको सेमिफाइनलमा न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएर ७० रनले जितेको थियो । यस खेलमा ब्याटिङतर्फ विराट कोहली र बलिङतर्फ मोहम्मद सामीले कीर्तिमान बनाएका थिए । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५०औं शतक पूरा गर्दै सचिन तेन्दुलकरको नाममा रहेको विश्व कीर्तिमान तोडे ।

यता सामी न्युजिल्याण्डविरुद्धको ७ विकेट लिएर एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने भारतीय बलर बने । त्यतिमात्र होइन उनी एकै विश्वकपमा सर्वाधिक विकेट लिने भारतीय बलर पनि बनेका छन् । उनले जारी प्रतियोगितामा लिएको विकेट संख्या २३ पुगेको छ ।

यो विश्वकपमा ब्याटिङतर्फ कोहली सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले प्रतियोगितामा खेलेका १० खेलमा ३ शतक र ५ अर्धशतकसहित ७११ रन जोडेका छन्। उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्ने लगभग पक्का छ । उनलाई पछ्याइरहेका भारतकै रोहित शर्माको ५५० र अस्ट्रेलियाका डेभिड वार्नरको ५२८ रन छ ।

बलिङतर्फ भारतका सामीलाई अस्ट्रेलियाका एडम जाम्पा २२ विकेटसहित पछ्याइरहेका छन् । भारतका जसप्रित बुमराहले १८, रवीन्द्र जडेजाले १६ तथा अस्ट्रेलियाका जोस हेजलउडले १४ विकेट लिएका छन् ।

खेलाडीको प्रदर्शन र घरेलु दर्शकको साथ पाएको भारतलाई यसपटक उपाधिमाथि कब्जा जमाउने महत्वपूर्ण अवसर छ तर अस्ट्रेलियाको चुनौतीसमक्ष उपाधि हात पार्नु त्यति सहज भने हुने छैन।