विराट कोहलीको कीर्तिमानी र श्रेयस अय्यरको शतक
आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्ड भारतसँग ७० रनले पराजित भएको छ । बुधबार वानखेडेमा भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन मात्र बनाउन सक्यो । जितसँगै भारत विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
भारतका शीर्ष बलर मोहम्मद शामीले ९.५ ओभरमा ५७ रन दिएर ७ विकेट लिएर फेरि एकपटक आफ्नो जादु देखाए । योसँगै उनले विश्वकपको यो खेलमा अचम्मको कीर्तिमान पनि बनाएका छन् । मोहम्मद शामीले यस प्रतियोगितामा तीन पटक ५/५ विकेट लिएर एकदिवसीय विश्वकपमा आफ्नो ५० विकेट पूरा गरेका छन् । उनी यस्तो गर्ने पहिलो भारतीय बलर पनि बनेका छन् । शमीले एकदिवसीय विश्वकपमा मात्र १७ खेल खेल्दै ५१ विकेट लिएका छन् । योसँगै शमीले विश्वकप एकदिवसीयमा ५ विकेट लिएको यो चौथो पटक हो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले विराट कोहलीको कीर्तिमानी शतक र श्रेयस अय्यरको शतकको सहयोगमा चार विकेट गुमाएर पूरा ५० ओभर खेलेर ३९७ रन बनाएको थियो । भारतका लागि कोहलीले ९ चौका र दुई छक्काको सहयोगमा ११३ बलमा ११७ रन बनाए । अय्यरले चार चौका र आठ छक्का हानेर १०५ रन बनाए । यसैगरी शुब्मन गिलले ८० रन, कप्तान रोहित शर्माले ४७ रन, केएल राउलले ३९ रन र सूर्यकुमार यादवले एक रन बनाए ।
बलिङतर्फ न्युजिल्यान्डका लागि टिम साउथीले तीन विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए । न्युजिल्यान्डका लागि डारिल मिचेलले सर्वाधिक ११९ बलमा १३४ रन बनाए । केन विलियसनले ६९ रन बनाउँदा ग्लेन फिलिप्सले ४४ रन, डेवन कोनवे र रचिन रविन्द्रले समान १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ भारतका लागि मोहम्म शामीले सर्वाधिक सात विकेट लिए । जस्प्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान एक–एक रन लिए ।