Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

श्रीलंका क्रिकेटलाई आईसीसीले गर्‍यो निलम्बन

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल बोर्डले श्रीलंका क्रिकेट (एसएलसी)को आईसीसी सदस्यता निलम्बन गरेको छ । आईसीसीले तत्काल लागु हुने गरी श्रीलंका क्रिकेटलाई निलम्बन गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार राति जारी विज्ञप्तिमा आईसीसीले एसएलसीले सदस्यको रूपमा आफ्नो दायित्वहरू उल्लङ्घन गरेको बताएको छ । विशेष गरी आफ्नो मामिलाहरू स्वायत्त र सरकारी हस्तक्षेपबिना व्यवस्थापन गर्न नसकेको आईसीसीले जनाएको छ ।

“निलम्बनको सर्तहरू आईसीसी बोर्डले समयमै तय गर्नेछ,” आईसीसीले विज्ञप्तिमा भनेको छ । आईसीसीको बोर्ड बैठक नोभेम्बर २१ मा बस्दै छ । त्यसपछि, आगामी कार्यदिशा स्पष्ट हुने अपेक्षा गरिएको छ ।

श्रीलंकाले जनवरी र फेब्रुअरी २०२४ मा आईसीसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप आयोजना गर्ने तालिका छ । श्रीलंकाको पुरुष टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ मा बिर्सनलायक समय बिताएको छ । आफ्ना नौ खेलमा मात्र दुई खेल जितेर उसले चार अंक जोडेको छ ।