रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बनेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए ।
अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
नेपालका करण केसीले ३ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारेका थिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।