Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एन्जिलाले सेथु एफसीबाटै इण्डियन वुमन्स लिग खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय आइलिग क्लब सेथु एफसीसँग आगामी सिजन (२०२३–०२४) का लागि सम्झौता नवीकरण गरेकी छन् ।

गत सिजन समेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको लागि सम्झौता गरेकी हुन् । ‘आगामी संस्करणमा खेल्न पुनः सम्झौता नवीकरण भएको छ’, एन्जिलाले भनिन्, ‘अघिल्लो पटक सोचेजस्तो भएन । यस पटक च्याम्पियन बन्ने योजना छ ।’

सेथुले पनि सामाजिक सञ्जालबाट एन्जिलाको स्वागत गरेको छ । दुईबीच भएको सम्झौता भने गोप्य राखिएको छ । एन्जिलाको आईलिगमा दोस्रो संस्करण हो । अघिल्लो सिजन टोली सेमिफाइनलमा किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित थियो । एन्जिलाले ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।