देशभरका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्। न्याय नपाएको भन्द विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।
गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका छन् । लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ । वित्तीय अपराध बन्द गर्न पनि उनीहरूले माग गरेका छन् ।
पीडितहरु गौशालाबाट कालोपुल हुँदै बालुटारसम्म पुगेका थिए। सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरुले पुनः सरकारलाई झक्झकाउन काठमाडौँ आउनुपरेको बताए। पीडितहरुले हाम्रो माग पूरा गर, राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर, दिदीबहिनी ठग्न पाइँदैन, धितो लिलाम फुकुवा गर, वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए ।

लघुवित्त र मिटरब्याजपीडितहरूले मंगलबार काठमाडौंमा मार्चपास गरेका थिए । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले मार्चपास गरेका थियो । नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौं आएका छन् । उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत नौ बुँदे माग अघि सारेका छन् ।
लत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटरव्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरूको भनाइ छ ।
तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरूको गुनासो छ ।